सोमबार १४ जेठ २०८१

डडेल्धुरा : अहिले सामाजिक सञ्जालमा डडेल्धुराको एउटा भिडियो भाइरल छ। परशुराम नगरपालिका-१ का शिक्षक ‘मदिरा सेवन गरि परस्त्रीको घर’मा भनेर सामाजिक सञ्जालमा उक्त भिडियो छ्याप छ्याप्ति भाइरल छ।

 

जसमा केही स्थानीयले उनलाई कुटपिट गरेका छन्। ती शिक्षक भनिएका व्यक्तिको मुखभरी रगत देखिन्छ।

५२ सेकेन्डको भिडियोमा ती व्यक्ति रक्सीले मात्तिएको देख्न सकिन्छ।

 

भिडियोमा बोल्दै उनी भन्छन्, ‘मैले उसँग फोन कहिले गरेको छुँ, उसँग कुरा कहिले गरेको छुँ।`

 

त्यसमा केही व्यक्ति बोल्दै सोध्छन्, ‘यति राति किन आइस् त? मास्टर भएर जे पनि गर्न पाइन्छ ? राति पैसा माग्नुको कारण के ? ‘

 

त्यसैमा एक जना महिलाले भन्छिन्, ´राती आएर सिधै जाने हो। मेरो घरको थडामा किन हाम फालेको ? राम्रो सोचले आएको भए दिउँसो आउनु पर्ने, केही न केही गर्ला भन्ने सोचमा राती आएको होस्।`

 

ती महिलाको कुरा सुन्दा उनी माइती घरमा बस्दै आएको बुझिन्छ। उनी कसम खाँदै ती व्यक्तिलाई नचिनेको जिकिर गर्छिन्। र, बुवालाई घरमा आउन दिन भन्छिन्।

 

अरू पुरुषले आफूहरू नआएको भए ती व्यक्तिले जे पनि गर्न सक्ने आरोप लगाइरहेका छन्। तर, ती कुटाइ खाएका व्यक्ति आफ्नो गलत सोच नभएको बताउँछन्।

 

भिडियो सामाजिक सञ्जालमा देखेपछि हामीले परशुराम नगरपालिकाका केही स्थानीयबाट समेत बुझ्याैं। ती स्थानीयका अनुसार भिडियोमा कुटाइ खाने व्यक्ति सोही नगरपालिकाको समैजी आधारभुत विद्यालय कलेनाका शिक्षक मानबहादुर बोहरा रहेको पत्ता लाग्यो।

 

घटना मंसिर १० गतेतिर भएको र मदिरा सेवन गरेर परस्त्रीको घरमा गएपछि कुटिएको स्थानीय बताउँछन्। अहिले ती शिक्षक फरार रहेको स्थानीयको भनाइ छ।

 

परशुराम नगरपालिका-१ का वडाध्यक्ष लालबहादुर धामीसँग यसबारेमा बुझ्दा सुरुमा उनले नजानेको जस्तो गरे। तर, उनीसँग धेरै केरकार गर्दा घटना कलेना गाउँको भएको सुन्न आएको बताए।

 

अनेक आनाकानी गरेपछि मुख खोलेका धामीले रक्सी खाएर शिक्षकको तीन जना स्थानीयसँग लफडा भएको बताए। उनी भन्छन्, ´वडामा खासै जानकारी आएन। मैले पनि चासो राखेन। ती शिक्षक उपचारका लागि जिल्ला बाहिर गएको सुनेको छ।`

 

यता, इलाका प्रहरी कार्यालय जोगबुढाका इन्सपेक्टर गगनसिंह भाटले घटनाबारे आफूलाई जानकारी नभएको बताएका छन्।


Last Updated on: December 11th, 2023 at 2:54 pm
१० पटक हेरिएको

तपाईको प्रतिक्रिया