सोमबार १४ जेठ २०८१

 

काठमाडौ । सुनसरी धरान-१६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै प्रेमीलाई पक्राउ गरि शुक्रवार सार्वजनिक गरेको छ ।

 

 

ईलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गर्दे सुनसरी प्रहरी प्रमुख तथा एसपी विपिन रेग्मीले सोही ठाउँकै १९ बर्षीय सविन भन्ने बाबुराम भुजेलले सुमनाको हत्या गरेको जानकारी दिए ।

 

पक्राउ परेका भुजेललाई पनि सार्वजनिक गर्दै एसपी रेग्मीले अनुसन्धानको लागि ७ दिनको म्याद थप गरिएको बताए ।

 

एसपी रेग्मीकाअनुसार अभियुक्त भुजेललाई घटनाबारे जानकारी पाएको २४ घण्टा पनि नबित्दै धनकुटाको मुलघाटमा लुकीछिपी रहेको अवस्थामा बिहीबार पक्राउ गर्न प्रहरी सफल भएको हो ।

 

आरोपी भुजेलको साथबाट मृतक सुमनाले प्रयोग गर्ने मोवाइल पनि वरामद भएको छ । सिम भने भुजेलले फुटाएर खोलामा बगाइदिएको प्रहरीसमक्ष वयान दिएका छन् ।

 

गत बुधबार दिउँसो सुमनाको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बीचमा रहेको खोल्सामा फेला परेको थियो । सुमनाको घाँटी रेटिएको अवस्थामा शव घोप्टो परेको थियो ।

 

एसपी रेग्मीका अनुसार भुजेलले नियोजितरुपमा नै सुमनाको हत्या गरेका हुन् । सुमना अर्कै केटासँग नजिकिएको थाहा पाएपछि हत्या गर्ने नियतले नै भुजेलले खुकुरी किनेर लगेको र स्कुटर सिकाउने बहानामा राती हत्या गरेको पनि प्रहरीले जनाएको छ ।

 

साथी भेट्न भन्दै घरबाट निस्केकी थिइन् सुमना

 

मृतक सुमना गत मंगलबार बेलुकी साथीको फोन आएको भन्दै घरबाट निस्किएको खुलेको छ । मृतकका परिवारजनका अनुसार करिब ५ बजेतिर फोन आएपछि सुमना साथी भेट्न भन्दै निस्केकी थिइन् ।

 

घरबाट हिडेपछि उनी नफर्केको र राती ९ बजे, ११ बजे म साथीकोमा छु, यतै बस्छु भनेर दिदीलाई मेजेन्सरमा मेसेज गरेको पाइएको छ । अरु बेला पनि साथीकोमा बस्ने गरेको कारण सुमनाका परिवार ढुक्क भएका थिए ।

 

तर, बुधबार साँझ भने एक्कासी विभत्स हत्या भएको खबरले परिवारजन स्तब्ध भएको थियो । मृतक सुमनाककी दिदीका अनुसार फोन आएपछि कल्याण चोकमा साथी भेट्न गएको भन्दै घरबाट निस्किएकी थिइन् ।

 

सुमना शारदा नमुना बालिका स्कुलमा कक्षा १२ मा अध्ययनरत थिइन् । पढाई सँगै उनी क्याट्रीनमा काम पनि गर्थिन् । उनका बुबा महेन्द्र श्रेष्ठ चालक छन् । सुमना उनको जेठी श्रीमतितर्फकी छोरी हुन् । दोस्रो बिवाह गरेपनि उनीहरु एकै ठाउँमा मिलेर बसेका छन् ।

 

0000

घटनाको अनुसन्धान गर्ने क्रममा मृतक सुमना र भुजेलबीच २ बर्षदेखि फेसबुकमार्फत प्रेम सम्बन्ध रहेको खुलेको छ । तर, गत पुस महिनादेखि सुमना ग्लोबलओरियन्स धरानमा काम गर्न थालेपछि सोही कम्पनीमा काम गर्ने प्रदिप श्रेष्ठसँग चिनजान भएर नजिकिएकी थिइन् ।

 

उनीहरुले फेसबुक आइडी पनि एउटै चलाउने गरेकोले कारण आरोपी भुजेल र सुमनाबीचको प्रेम सम्बन्ध चिसिन थालेको खुलेको छ ।

 

पछिल्लो समय चैत २ गतेदेखि भुजेल काम गर्ने सिलसिलामा धनकुटाको मुलघाट बस्न थालेपछि उनीहरुको प्रेम सम्बन्धमा झनै खटपट हुन थालेको थियो ।

 

घटना भएको दिन चैत ६ गते भुजेल सुमनालाई भेट्न धरान गएका थिए । साँझदेखि नै भेटघाट गरेर आफ्नै स्कुटरमा राखेर बाबुरामले सुमनालाई स्कुटर चलाउन सिकाउने बहानामा राती ९ बजे घटनास्थल पुगेका थिए ।

 

घटनास्थल पुगेपछि दुवैबीच फेसबुक प्रयोगको बिषयमा विवाद भएको र योजना बमोजिम नै भुजेलले साथमा बोकेको खुकुरी निकालेर सुमनाको घाँटी रेटेर हत्या गरि खोल्सामा फालेको एसपी रेग्मीले पत्रकार सम्मेलनमा बताए ।

 

हत्यापश्चात भुजेल भने सोही राती भागेर धनकुटा पुगेका थिए । प्रहरीले उनलाई मुलघाटमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर धरान ल्याएको हो । हालसम्मको अनुसन्धानबाट सुमनाको हत्यामा बाबुरामको मात्र संलग्नता देखिएको छ ।

 

अन्य विभिन्न कोणबाट अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


Last Updated on: March 22nd, 2024 at 3:24 pm
२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया