बिहिबार १० जेठ २०८१

क्यान्सरले थलिएका गोरखा नगरपालिका ७ पौवाखेतका शंकर रोकाको मृत्युपछि शुक्रबार राति परिवारले पशुपति आर्यघाटमा दाह संस्कार सकाए । वडाअध्यक्ष विष्णु प्रसाद श्रेष्ठका अनुसार अन्तिम दाहसंस्कार पछि किरिया बस्नका लागि मृतकका ७० वर्षीय आमा जुनकिरी, श्रीमती बबिता, छोरा दिवश सहित गाउँबाट बिरामी कुर्न आएका सबै आफन्तहरू गोरखा फर्किने भए ।

 

राती अबेर भैसकेकोले आफन्तहरूले नै ३ वटा ट्याक्सी र एउटा माइक्रोबसको व्यवस्थापन गरे । जसमध्ये बा २ झ ४१९६ नम्बरको ट्याक्सी शङ्करकै बहिनी ज्वाइँ अर्जुन सिर्मलको थियो ।

 

सबै जना ३ वटा ट्याक्सी र माइक्रोबस लिएर गोरखाको पौवाखेततर्फ लागे । अर्जनुको ट्याक्सीमा मृतक शंकरकी आमा ७० बर्षीया जुनकिरी रोका, छोरा १८ वर्षीय दिवश रोका, दिदी ४१ वर्षीय हरिमाया उपरोकोटी, भान्जा ९ वर्षीय आगमन उपरकोटी र बहिनी २८ वर्षीया अञ्जना उपरकोटी थिए ।

 

गाउँका आफन्त र शंकरकी श्रीमती अर्को गाडीमा थिए । पशुपतिमा दाहसंस्कार सकिएपछि अबेर भैसकेको थियो । मध्यरातमा काठमाडौँबाट मलामी र किरियापुत्री बोकेका ४ वटा गाडी गोरखातर्फ लागे ।

 

बिहान ५ बजे शंकरीकी श्रीमती सहितका आफन्त चढेको गाडी मुग्लिङ पुग्यो । काठमाडौँबाट सँगसँगै गइरहेको अर्जुनले चलाएको अर्को ट्याक्सीले धेरै बेरसम्म पनि उनीहरूलाई भेट्टाएन । अगाडि बढेको ट्याक्सी चलाइरहेका अर्जुनका जेठान प्रकाश र माइक्रोबसमा भएकाहरूले फोन गर्दा पनि फोन लागेन । बल्ल बल्ल लागेको फोनमा गाडी डुब्यो भन्ने आवाज मात्रै सुनेपछि फोन काटियो ।

 

त्यसपछि आफन्तहरूले प्रहरीलाई खबर गर्दै ट्याक्सी खोज्न कुरिनटारतर्फ फर्किए । मुग्लिङबाट फर्किएर इच्छाकामना गाउँपालिका ५ मा पर्ने पृथ्वी राजमार्गको मिलधारा नजिक आएपछि राजमार्ग छेउको डिभाइडर भाँजिएको भेटियो । डिभाडर भाँचिएको ठाउँबाट हेर्दा ट्याक्सी त्रिशुलीमा हेलिएको परिवारका सदस्यहरूले देखे ।

 

श्रीमानको दाहसंस्कार गरेर किरिया बस्न घर फर्किदै गरेकी बबिता आफ्नो छोरा सहित सासु, नन्द, आमाजु, ज्वाइँ र भान्जा चढेको गाडी त्रिशुलीमा डुबेको देखेपछि मुर्छित भइन । आफन्तहरू अत्तालिए ।

 

प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार सुरु गर्यो । तर, विडम्बना कोही पनि जीवित भेटिएनन् । ट्याक्सीमा सवारी ६ जना मध्ये पाँच जनाको शव भेटिए पनि बबिताका छोरा दिवस अहिलेसम्म बेपत्ता छन् ।

 

निमेषभरमै एकै परिवारका ५ जनाले ज्यान गुमाए, एक दिनमै एउटै परिवारमा ६ जनाको मृत्यु भयो । एक जना अझै बेपत्ता छन् । ७० वर्षीय जुनकिरी रोकाले छोरा गुमाएको केही घण्टामै दुर्घटनामा ज्यान गुमाइन् ।

 

बबिताले क्यान्सरका कारण श्रीमान गुमाइन, दुर्घटनामा सासु, छोरा र आफन्त गुमाइन । जेठानको मृत्युपछि किरिया बस्ने भतिज सहित आफन्तलाई बोकेर गोरखा जाँदै गरेका ट्याक्सी चालक अर्जुन सिर्मलका श्रीमान् श्रीमतीले आफ्नै ट्याक्सी दुर्घटनामा ज्यान गुमाए ।

 

एकै परिवार र उनीहरूको आफन्तहरूको अप्रत्याशित दुर्घटनाले गाउँनै शोकमा डुबेको वडा अध्यक्ष श्रेष्ठले सिधाकुरालाई बताए । उनका अनुसार घटनास्थलबाट बरामद भएका शव जिल्ला अस्पताल गोरखामा पोस्टमार्टम गरेर अन्तिम दाहसंस्कारका लागि घाट लगिएको छ । दाहसंस्कार स्थलबाटै सिधाकुराको सम्पर्कमा आएका उनले एक दिनमै एउटै परिवारका ६ जनाको मृत्यु एक जना बेपत्ता हुँदा गाउँ नै स्तब्ध भएको बताए । ‘गाउँ शब्दमा बयान गर्न नसकिने शोकमा छ,’ वडा अध्यक्ष श्रेष्ठले भने, ‘यो सबै कसरी भयो रु दैवले यो के गरे रु’

 

श्रेष्ठका अनुसार मृतक परिवार सामान्य आर्थिक हैसियतका छन् । दुःख कष्ट गरेर घर परिवार चलाउँदै आएका शंकरलाई रोगले निले पनि घर चलाउने साहस बटुल्दै श्रीमती बबिता सपरिवार घर फर्कदै थिइन तर उनको सर्वश्व त्रिशुलीको भेलमा बिलायो ।


Last Updated on: March 30th, 2024 at 4:40 pm
२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया